प्रविधि

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

बाजुरा ।जिल्लाको बूढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ। शुक्रबार साँफे–मार्तडी राजमार्गमा रहेको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी हुँदा नेपाल टेलिकमको इन्टरनेट र विद्युत्को तार जलेर नष्ट भएको हो।

नेपाल टेलिकम बाजुरा शाखाका प्राविधिक गङ्गाराम जैशीका अनुसार इन्टरनेटको तार जलेको जानकारी डडेल्धुरा पठाइएको छ र मर्मत टोली आइतबारसम्म घटनास्थलमा पुग्ने अनुमान गरिएको छ।

त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकासम्म विस्तार गरिएका इन्टरनेटका तार जलेर सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। मार्तडी क्षेत्रमा पनि इन्टरनेटमा समस्या देखिएको टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम, सरकारी कार्यालय र वित्तीय संस्थाको काम प्रभावित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *