काठमाडौं । एलन मस्कद्वारा प्रवर्तित स्टारलिङ्क इन्टरनेट सेवा आजदेखि बङ्गलादेशमा औपचारिक रूपमा सुरु भएको छ। यससँगै बङ्गलादेश दक्षिण एसियामा स्टारलिङ्क सेवा सञ्चालन हुने पहिलो देश बनेको छ।
बङ्गलादेशका अन्तरिम सरकार प्रमुख महोम्मद युनुसले सेवा उद्घाटन गर्दै अब कुनै पनि राजनीतिक आन्दोलनका कारण इन्टरनेट सेवा अवरुद्ध नहुने बताएका छन्। उनका अनुसार, स्टारलिङ्क सेवा ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्च गतिको इन्टरनेट पहुँच पुर्याउने लक्ष्यसहित सुरु गरिएको हो।
ब्रिटिश समाचार संस्था रोयटर्सका अनुसार, स्टारलिङ्कको इन्टरनेट तीव्रगति र स्थायीत्वका लागि परिचित छ। बङ्गलादेशमा यसको मासिक शुल्क ४,२०० टाकाबाट सुरु हुने र उपकरण तथा सेटअपका लागि ४७,००० टाका लाग्ने जनाइएको छ।
स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्क सेवा हाल विश्वका ७० भन्दा बढी देशमा फैलिइसकेको छ।
नेपालमा पनि यो सेवा सुरु गर्ने विषयमा एलन मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनलाइन संवाद गरिसकेको र मस्कको टोलीले अफलाइन छलफलसमेत अघि बढाइसकेको स्रोतले जनाएको छ।




