
काठमाडौं। नेपाल सरकारको आह्वानपछि पनि फेसबुक, एक्स (ट्विटर) जस्ता विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुन चासो नदेखाएको खुलेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा र एक्सलाई दुईपटक पत्राचार गरे पनि हालसम्म कुनै जवाफ नआएको मन्त्रालयले जनाएको छ।
शुक्रवार रुपन्देहीमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले दर्ता प्रक्रियालाई बेवास्ता गरेमा नेपालमै फेसबुक बन्द गरिने चेतावनी दिएका छन्। “नेपालको संविधान र कानुनको पालना गर्नुपर्छ। दर्ता नभए रोक लगाउने विकल्प रहँदैन,” मन्त्री गुरुङले भने।
सरकारले सामाजिक सञ्जाल दर्ता गर्ने अन्तिम म्याद वैशाख ७ गते तोकेको छ। निर्देशिका २०८० अनुसार नेपालमा सञ्चालित वा सञ्चालन गर्न चाहने सञ्जाल प्लेटफर्महरूले सञ्चार मन्त्रालयमा दर्ता हुनुका साथै सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन निगरानी अधिकारी तोक्नुपर्ने प्रावधान छ।
हालसम्म टिकटक, भाइबर (दुवै विदेशी) र विटोक (नेपाली) गरी तीनवटा प्लेटफर्म मात्र नेपालमा दर्ता भएका छन्।
मन्त्रालयकी उपसचिव ममता बास्तोलाका अनुसार, “हामीले सबैका लागि सार्वजनिक सूचना मात्र होइन, मेटा र एक्सलाई छुट्टै पत्रसमेत पठाएका छौं। तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।”
नेपालमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अत्यधिक लोकप्रिय छन्। यी प्लेटफर्ममार्फत करोडौँ रुपैयाँको व्यापार हुँदै आएको भए पनि नेपालमा मेटाले न त कर तिर्छ न त स्थानीय गुनासो सुन्ने संयन्त्र नै बनाएको छ। सरकारले दर्ता प्रक्रिया पूरा नगर्ने प्लेटफर्महरूलाई निर्देशिकाअनुसार नेपालमा रोक लगाउन सक्ने चेतावनी दिएको छ।
अब दर्ताको अन्तिम म्याद एक सातामात्र बाँकी रहेकाले सरकारको सम्भावित कारबाही र सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रतिक्रियाले परिस्थिति थप चासोको विषय बनेको छ।