काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेल्लो सरकार’ वेबसाइटलाई रुसी ह्याकर समूहले ह्याक गरेको छ। उक्त ह्याकपछि नागरिकहरूको संवेदनशील डेटा चोरी गरी डार्कवेबमा बिक्रीका लागि राखिएको खुलासा भएको छ।
रुसी ह्याकर समूह ‘घुद्रा’को दाबी
‘घुद्रा’ नामक रुसी ह्याकर समूहले रुसी सैन्य इन्टेलिजेन्ससँग निकट सम्बन्ध रहेको दाबी गर्दै ‘हेल्लो सरकार’ वेबसाइट ह्याक गरेको जिम्मेवारी लिएको छ।
ह्याकर समूहले नेपाल सरकारलाई सम्पर्कगर्न अस्वीकार गरेपछि डेटा बिक्री गर्न बाध्य भएको बताएको छ। ह्याकरहरूले हेल्लो सरकारका डेटा बिक्रीमा मुल्य तोकेर राखेका छन् । ह्याकर समूहले वेबसाइटको फाइल म्यानेजरको स्क्रिनसट सार्वजनिक गर्दै सिस्टममा पहुँच भएको प्रमाण प्रस्तुत गरेका छन्।
के–के डेटा चोरी भयो?
ह्याकर समूहले सार्वजनिक गरेको विवरणअनुसार निम्न संवेदनशील डेटा चोरी भएका छन् । नागरिकको नाम, इमेल, मोबाइल नम्बर, युजरनेम,पासवर्ड, डिभाइस आइडी, फोटो, कार्यालयको आइडी,ठेगाना र अन्य व्यक्तिगत पहिचानयोग्य जानकारी ,४९.९८ जीबीको सर्भर स्टोरेज मध्ये ८.३२ जीबी मात्र बाँकी रहेको देखिएको छ।
सरकारको प्रतिक्रिया : समस्या समाधानमा प्रयास जारी
ह्याकर समूहले डार्कवेबमा डेटा बिक्री सुरु गरिसकेपछि सरकारलाई चुनौती थपिएको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमकुमार श्रेष्ठले वेबसाइट ह्याक भएको सूचना प्राप्त हुनासाथ प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए। उनले भने, ह्याक भएको जानकारी पाउँदा पाउँदै वेबसाइट रिकभर गर्न काम सुरु भइसकेको छ। केही समयमा समस्या समाधान हुनेछ।
साइबर सुरक्षा विज्ञको चेतावनी :
साइबर सुरक्षा विज्ञ रिवश न्यौपानेका अनुसार ह्याकरले नागरिकको व्यक्तिगत डेटा सार्वजनिक गरेमा डिजिटल सम्पत्ति र राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम निम्तिन सक्छ।
उनका अनुसार ह्याकबाट गोपनीयता उल्लंघन र पहिचान चोरी,सरकारी प्रणालीको दुरुपयोग,ह्याकरहरूले सरकारी प्रणालीबाट झुटा सूचना फैलाउने वा नयाँ अवैध प्रणाली सञ्चालन गर्न सक्छन्।
ह्याकरहरूले नेताहरूको व्यक्तिगत विवरण सार्वजनिक गरी चरित्र हत्या गर्न सक्छन्, जसले राजनीतिक करियरमा असर पुर्याउने जोखिम छ। सरकारी संयन्त्रको साइबर सुरक्षा कमजोर भएको भन्दै विज्ञहरूले सरकारलाई यथाशीघ्र साइबर सुरक्षा प्रणाली बलियो बनाउन आग्रह गरेका छन्।






