देश

टेलिकमको २१औं वार्षिकोत्सवमा ग्राहकका लागि नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएको छ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले सेवाग्राहीको सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै सेवाको स्तरोन्नति र पूर्वाधार विस्तारलाई प्राथमिकता दिने बताइन्। उनले भनेकी छन्, ‘हाम्रो कार्यशैलीलाई पूर्ण प्रतिस्पर्धात्मक र ग्राहकमुखी बनाउन विशेष योजना अगाडि सारिनेछ।’

यस अवसरमा कम्पनीले विशेष एनिभर्सरी प्याकेज अफर ल्याएको छ। माघ २२ देखि फागुन ८ सम्म लागू हुने यो योजना अन्तर्गत ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिटेड डाटा प्लस १२० मिनेटको भ्वाइस प्याकेज उपलब्ध गराइनेछ।

त्यसैगरी, ४९९ रुपैयाँमा १ महिनाको समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल प्याकेज, ५९९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक र ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइनेछ।

एफटीटीएच ग्राहकका लागि कम्पनीले नयाँ अफर ल्याएको छ जसमा वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा र दुई वर्षको प्याकेजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले ५ एमबीपीएस गतिमा २० जीबी डाटा प्रयोग गर्न सकिने दैनिक टिकटक प्याकेज ४८ रुपैयाँमा र साप्ताहिक प्याकेज १७० रुपैयाँमा उपलब्ध गराएको छ।

साथै टेलिकमले विभिन्न विमानस्थल निःशुल्क वाईफाई उपलब्ध गराउने भएको छ । टेकिमले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सात प्रदेशका दुर्गम क्षेत्रका ६ हजार विद्यार्थीलाई विद्यालयका युनिफर्म र स्कूल व्याग वितरण गर्ने कार्य पनि अघि बढाएको छ ।

यस्तै, बाग्लुङ्ग कालिका भगवती मन्दिरमा शारीरिक अशक्त र वृद्ध दर्शनार्थीलाई सटल बस सेवा प्रदान गर्ने योजना रहेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् । उनका अनुसार २० वृद्धाश्रम÷अनाथाश्रमलाई आवश्यक सामाग्री उपलब्ध गराउने काम पनि भइरहेको छ ।

टेलिकमले १०० सरकारी र सामुदायिक विद्यालयलाई १ वर्षसम्म निःशुल्क एनटी फाइबर विथ टेलिफोन प्याकेज उपलब्ध गराउने लक्ष्य राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *