काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत क्षेत्रको क्षतिका कारण आगामी सुख्खायाममा विद्युत आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरेका छन् ।
४५६ मेगावाटको तामाकोशीमा बाँधस्थलको कन्ट्रोल रुम पूर्ण रुपमा क्षति भएको छ । सेटलिङ बेसिन र कल्भर्टमा पनि फोहोरहरु थुप्रिएको छ । आयोजनामा काम गर्ने २ जना कर्मचारी र २ जना सुरक्षाकर्मी बेपता भएका छन् । घिसिङका अनुसार बाढि पहिरोबाट आयोजनाले पारेको क्षेतीबारे अझै पूर्ण विवरण आउन नसकेको घिसिङले बताएका छन् ।
यस्तै काबेली करिडोर अन्र्तगतको दमक गोदक १३२ केभी प्रसारण लाइनका तीनवटा टावरमा पनि क्षति भएको छ । काबेली करिडोर प्रसारण लाइनमा २ करोड २५ लाख बराबरको क्षति भएपछि पूर्वको इलाम, फिदिम लगायतमा विद्युत आपूर्ति बन्द भएको छ । यसलाई तत्काल रिस्टोर गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
बागमती साना जलविद्युत आयोजनाको पनि विद्युतगृह पूर्ण रुपमा डुब्दा १ अर्ब बराबरको क्षति भएको जनाइएको छ । उत्पादनतर्फका विभिन्न २६ जलविद्युत आयोजनामा वर्षले क्षेति पु¥याएको छ । प्रसारणतर्फ काबेली करिडोर, खिम्ती लामोसाँघु १३२ केभी र सोलु करिडोरमा पनि क्षति पुगेको छ ।
आपतकालीन अवस्थामा अधिकांश विद्युतगृह बन्द भएकाले ११०० मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ । विद्युत आयोजनामा हालसम्म २ अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान भएको प्राधिकरणले जनाएको छ ।
कमला सिंचाइ व्यवस्थापन आयोजनाअन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको, घुर्मीमा रहेको १४० मिटर लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिममा रहेको छ । क्षतिको अनुमानित लागत ५ करोड रहेको छ ।
नारायणी सिंचाइ व्यवस्थापन आयोजनाअन्तर्गत युरिया नदीले कट्टान गरी नहरमा सामान्य क्षति भएको छ । यसबाट १० लाख बराबरको क्षति भएको अनुमान छ ।
यस्तै सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना, सिन्धुलीअन्तर्गत निर्माणाधीन कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको हुनाले ठूलो क्षति भई लागत अनुमान गर्न कठिन भएको प्राधिकरणले जनाएको छ ।
महाकाली सिंचाइ आयोजना, कन्चनपुर लगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठूलो क्षति पुर्याई करिब १ अर्ब १४ करोडको क्षति पुर्याएको । सिंचाइतर्फको अनुमानित क्षतिको लागत १० करोड र सुनकोशी मरिन डाइभर्जन बहुउद्देशीय आयोजनाको क्षति आंकलन गरी वित्तीय लागत अनुमान गर्न बाँकी रहेको छ । नदी नियन्त्रण तथा सिंचाइ समेत गरी करिब १ अर्ब ३५ करोड र विद्युत आयोजनातर्फ करिब ३ अर्ब गरी कुल करिब ४ अर्ब ३५ करोडको वर्षाका कारण क्षेति भएको तथ्याङ्कले जनाएको छ ।



