कर्णाली प्रदेश

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ ।

आगामी असार १० गते सञ्चालन हुने १६औं गाउँ सभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो ।

स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्य-तथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।

नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति ल्याउने गाउँ कार्यपालिकाबाट निर्णय भएको छ ।

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी १६औं गाउँसभाबाट स्वीकृत हुने गरी सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।

सञ्चार नीति तयार गर्न गाउँपालिकाले ३ सदस्य समिति तोकेको छ । समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहेका छन् ।

सञ्चार नीति गाउँ सभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ ।

सञ्चार नीति पारित भई कार्यान्वयन आए यहाँका विशेषगरी स्थानीय सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । ​

सञ्चार नीतिलाई प्राथमिकतामा राखेर गाउँ सभाबाट पारित भएमा जिल्लाका स्थानीय सञ्चारमाध्यमको विकासका लागि निकै टेवा पुग्ने रेडियो खुला आकाश जुम्लाका स्टेसन प्रबन्धक भीम कंसिगरले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *