देश

राससकर्मीलाई डिजिटल पत्रकारिता तालिम

काठमाडौं । बागमती प्रदेशमा कार्यरत राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारहरुका लागि आजदेखि यहाँ ‘डिजिटल पत्रकारिता तालिम’ सञ्चालन गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन समारोहमा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले राष्ट्रिय समाचार समिति समाचारको मुहान भएको उल्लेख गर्दै यसलाई सफा र शुद्धीकरण गर्नका लागि तालिम आयोजना गरिएको बताए । उनले राससले प्रकाशन गरेका समाचार धेरै सञ्चार माध्यमले प्रकाशित गर्ने हुँदा समाचारलाई प्रभावकारी बनाउन आवश्यक भएको धारणा राखे । तालिममा हासिल गरेका विषयवस्तु राम्रोसँग ग्रहण गरेर समाचार सम्प्रेषणका क्रममा लागु गर्न सञ्चार रजिष्ट्रार सापकोटाले आग्रह गरे ।

विषयवस्तु छनोट र प्राविधिक रुपमा कसरी सक्षम हुने भन्ने विषयमा तालिमको आयोजना गरिएको हो । राससले उत्पादन गर्ने समाचार बढीभन्दा बढी गुणस्तरीय हुनुपर्छ, गुणस्तरीय समाचारले राम्रो अर्थ राख्छ”, सञ्चार रजिष्ट्रार सापकोटाले भने। तालिममा सहभागी जिल्लाका राससकर्मीसँग समन्वय गरेर समाचार सङ्कलन गर्न सक्ने वातावरण तयार गर्न तालिमबाट मद्दत पुग्ने उनको भनाइ थियो ।

तालिमको पहिलो दिन राससका महाप्रबन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिको पृष्ठभूमिबारे जानकारी गराउँदै सहभागीसँग राससको अपेक्षाका विषयमा आफ्नो धारणा राखेका थिए ।

राससका प्रधानसम्पादक एकराज पाठकले समाचार सम्प्रेषण र सूचनाको हकको प्रयोगका विषयमा सहजीकरण गरेका छन । तालिममा बागमती प्रदेशका १३ जिल्लामा कार्यरत ४३ राससकर्मीको सहभागिता रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *