काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारका लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।
बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममालाई सम्बोधन गर्दै उनले आगामी दिनमा विद्युतीय सवारीको प्रर्वद्धनमा जोड दिने बताए । आगामी दिनमा विद्युतीय चार्जिङ स्टेसन देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ ।
देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको मन्त्री बस्नेतले बताए । विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुर्याउँछ ।
इलेक्ट्रक भिकलको प्रयोगले जवायुपरिवर्तनबाट हुने हानिकारकलाई समेत न्युनीकरण गर्न सकिनुका साथै सवारीमा यात्रा गर्ने यात्रुको स्वास्थ्यमा समेत सकरात्मक परिवर्तन आउँछन् । सरकारले ५१ स्थानमा मात्रै नभएर अब निकट भविष्यमा नै देशभर व्यापक रुपमा बिस्तारको योजना बनाएको उनले बताए ।
जलविद्युत क्षेत्रको दिगो विकासको लागि प्रविधिको विकास र अनुसन्धान र विद्युतीय सामग्रीको उत्पादनको दृष्टिले होस् वा विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले केही नीतिहरु निर्माण गरिहेको छ । उपयुक्त कानूनी व्यवस्थाहरु गरिरहेको छ । नेपालको हरित दिगो विकासको यात्रामा यो महत्वपूर्ण सावित हुने लगायत विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने उनले बताए ।




