काठमाडौँ। अमेरिकामा आर्टिफिसिअल इन्टेलिजेन्स (एआई) माथि काम गरिरहेका सात कम्पनीहरू टेक्नोलोजीलाई सुरक्षित बनाउन तयार भएका छन्। कम्पनीले एआईका नयाँ टुल्सको खतरालाई नियन्त्रण गर्ने दाबी गरेका छन्।
गत शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलमा सुरक्षा र विश्वसनियता कायम राख्ने वचन कम्पनीले दिएका थिए।
ती सात कम्पनीमा अमेजन, एन्थ्रोपिक, गुगल, इनफ्लेक्सन, मेटा, माइक्रोसफ्ट र ओपन एआई छन्। कम्पनीका उच्च अधिकारीको उपस्थितिमा राष्ट्रपति जो बाइडेनले उदीयमान नयाँ प्रविधिको खतराप्रति सचेत हुनुपर्ने बताउनुभएको छ।
केही समययता एआईले गम्भीर आशंका जन्माएको छ। एआईले मनुष्यको अस्तित्व समाप्त पार्नेसम्मको चेतावनी दिइएको छ। उल्लिखित सात कम्पनीले जोखिम कम गर्ने उपायबारे सहमति जनाएका छन्। तर टेक्नोलोजीमा परिवर्तनको गतिलाई हेरीकन अमेरिकी संसद्ले सामाजिक सञ्जाललगायत अन्य टेक्नोलोजीलाई नियमन गर्न सकिरहेको छैन।
अमेरिकी सरकारले एआईको नयाँ प्रोगामको चीन र अन्य प्रतिद्वन्द्वीसम्मको पहुँच रोक्न राष्ट्रपतिको भावी आदेशबारे केही उल्लेख गरिएको छैन। सरकारले आधुनिक सेमिकन्डक्टर र लार्ज ल्यांग्वेज मोडल निर्यातमा रोक लगाउन सक्नेछ। विशेषज्ञका अनुसार टेक्नोलोजी कम्पनीले जुन विषयमा सहमति जनाएका छन्, त्यो पहिले नै लागू भइसकेको बताएका छन्।
सात कम्पनीले विशेषज्ञमार्फत सुरक्षा जाँच, भेदभाव र गोपनियतामाथि अनुसन्धान, जोखिमबारे सरकार र अन्य संगठनमार्फत सूचना सेयरिङ, जलवायु परिवर्तनजस्ता सामाजिक चुनौतीसँग लड्न टुल्स बनाउने र एआई जेनेरेटिङ कन्टेन्टमा पारदर्शिता अपनाउनेजस्ता सुरक्षा उपाय लागू गर्न प्रतिबद्धता जनाएका छन्।
निष्प्रभावी कदम
अमेरिकी सरकारले हालसम्म एआईलाई कानुनको दायरमा ल्याउन कुनै कदम उठाएको छैन। विशेषज्ञका अनुसार अमेरिकाले लामो र कठिन यात्राको सुरुवात मात्रै गरेको बताएका छन्।
उपभोक्ताको सुरक्षा र टेक्नोलोजीले जागिर गुमाउने, झुटा जानकारीको प्रचार तथा सुरक्षालाई जोखिमजन्य कानुनको खाकासम्म आएको छैन। उपभोक्ता ग्रुप पब्लिक नलेजका अध्यक्ष क्रिस लुइसले कानुन कसरी बन्छ कसैलाई थाहा नभएको बताउनुभएको छ।
कानुनको विषयमा अमेरिका युरोपभन्दा पनि पछाडि छ। युरोपेली संसद्ले यो वर्ष एआईको खतरालाई मध्येनजर गर्दै यसको प्रयोगमा रोक लगाउन कानुन बनाइरहेको छ।




