काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) जडान गर्न लागेको छ ।
प्राधिकरणले तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात गरिसकेको छ । तर टेलिकम सेवाप्रदायक कम्पनीहरू टेरामोक्स प्रविधि जडान गर्न तयार नहुँदा यो प्रणाली कार्यान्वयनमा अझै आउन आउन सकेको छैन ।
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसञ्चार ऐन, २०५३ को दफा १३ (छ) अनुसार दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकासअनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि टेरामोक्स प्रविधि स्थापना गर्न लागेको प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार ऐन २०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने, अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसञ्चार कम्पनीहरूको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलाप रोक्न÷पहिचान गर्ने कार्यमा यो प्रणालीले सहयोग गर्ने उसले विश्वास लिएको छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक संख्यामा वृद्धि हुँदै गर्दा पनि आम्दानी घट्नेक्रम जारी रहेको, पटकपटक कम्पनीहरुको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको र प्राधिकरणको तर्फबाट गुणस्तर एकिन गर्न नमुना ड्राइभ टेस्ट गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहकको सेवा पाउने अधिकार तथा सरकारले गुमाइरहेको अर्र्बौंको राजस्व रोकथाम गर्नुका साथै भविष्यमा राज्यले अपनाउनुपर्ने नीति नियमको तर्जुमा गर्नका लागि पनि टेरामोक्स प्रणाली जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
टेलिकम अपरेटरको ग्राहक संख्या बढ्दै जाने, भ्वाइस डाटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने, तर विगत वर्षको तुलनामा वार्षिक रूपमा २० अर्बभन्दा बढी टेलिकम अपरेटरको रेभेन्यु घट्नुको यथार्थ चित्रण गर्न साथै कल बाइपासबाट राज्यलाई अर्बौंको क्षति भइरहेकाले टेरामोक्स प्रविधिले त्यसको रोकथाम गर्ने प्राधिकरणको तर्क छ ।
यस्तै, दूरदराजका टेलिकम अपरेटरका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौंसम्म टेलिकम अपरेटरले बिग्रिएका सेवा सुचारु नगर्ने, बेलाबेलामा टेलिकमको बिलिङ सिस्टममा वास्तविक वा कृत्रिम समस्या आउनु वा समयमै बिलिङ सिस्टम परिवर्तन÷अपग्रेड नगर्दा ‘अन्डर बिलिङ’ हुन गई राजस्वमा भएको घाटा पत्ता लगाउन र यसको जानकारी नियामक निकायलाई उपलब्ध नगराइनेलगायतका बेथिति विसंगति रोक्न मद्दत पुग्ने उसको ठहर छ ।
२०६८ बाट २०७६ सम्म आठ वर्षको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तथ्यांकअनुसार नेपालमा कल बाइपासबाट मात्र १२ अर्बभन्दा पनि धेरै आम्दानी गुमेको देखिन्छ । सीआईबीको पहुँच बाहिरको विवरणको कुनै हिसाबकिताब छैन । यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान गर्न अत्यावश्यक देखिएको प्राधिकरणको निष्कर्ष छ । बंगलादेशी, चिनियाँ, पाकिस्तानी, भारतीय गिरोहले कल बाइपासबाटै अर्बौं राजस्व लुटिरहेका छन् ।
प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७८/७९ मा करिब २१ अर्ब रुपैयाँ वार्षिक रूपमा कमी आएको देखिएकाले के कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन पनि टेरामोक्स प्रविधि जडान गर्न अतिआवश्यक देखिएको जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्स प्रविधि लागू गर्न नेपाल टेलिकम र एनसेललाई यसअघि नै निर्देशन दिएको थियो । प्राधिकरणले धेरैअघि टेरामोक्स प्रविधि भित्र्याएको हो । लामो समय हुँदा पनि यसको कार्यान्वयन नभएकोमा प्राधिकरणले असन्तुष्टि जनाउँदै आएको थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम र एनसेललाई टेरामोक्स प्रविधि लागू गर्न निर्देशन दिइएको जानकारी दिए ।
के हो टेरामोक्स प्रविधि ?
दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दाे बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकासअनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न तथा यसको नियमनका लागि दूरसञ्चार प्राधिकरणले टेरामोक्स स्थापना गर्न लागेको हो ।
यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको तर्क छ ।
टेरामोक्स प्रणालीले दूरसञ्चार कम्पनीहरूको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलाप रोक्न÷पहिचान गर्ने कार्यमा सहयोग गर्ने प्राधिकरणको विश्वास छ ।
टेरामोक्स प्रविधिले के गर्छ ?
अपरेटरले डिक्लियर गरेको अन्तर्राष्ट्रिय÷राष्ट्रिय भ्वाइस कल र एसएमसको जम्मा परिमाण ठीक छ छैन भन्ने नियमन गर्छ ।
अपरेटरले गर्न सक्ने अनडिक्लियर्ड तथा अनडिक्लियरिङ कल र एसएमसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ ।
कल बाइपासलगायतका टेलिकममा हुने विभिन्न खाले आपराधिक गतिविधिलाई नियन्त्रण गर्छ ।
अपरेटर वा भीओआईपी कल बाइपासलगायतका आपराधिक गतिविधिबाट हुने अर्बौको क्षतिलाई न्यूनीकरण गरी सरकारको राजस्व बढाउन उल्लेखनीय मद्दत गर्छ ।





