प्रविधि

ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता

काठमाडौँ ।मार्क जुकरबर्गको मेटा कम्पनीले नयाँ एप ‘थ्रेड्स’ सार्वजनिक गरेको छ। एलन मस्कको ट्विटरको प्रतिस्पर्धीका रूपमा मेटाले यो एप ल्याएको बताइएको छ।

थ्रेड्स इन्स्टाग्रामसँग लिंक भएर चल्ने टेक्स्ट बेस्ड एप हो।  इन्स्टाग्राम प्रयोग गरेर थ्रेड्समा लगइन गर्न सकिन्छ। यस्तै इन्स्टाग्राममा फलो गर्नेलाई प्रयोगकर्ताले थ्रेडमा पनि फलो गर्न सक्नेछन्।

अहिले थ्रेडमा प्रयोगकर्ताको राम्रो जबाफ आएको कम्पनीको भनाइ छ। लन्च भएको केबल चार घण्टामा नै यसका प्रयोगकर्ता ५० लाख नाघेका छन्।

थ्रेड्स एपलाई सयभन्दा बढी देशमा एप्पल एप र गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। नियामकीय चिन्ताका कारण यो एपलाई युरोपियन युनियनमा लन्च गरिएको छैन।

यो एपमा ५०० अक्षरसम्म लेख्न र लिंक, फोटो तथा भिडियो पनि सेयर गर्न सकिन्छ। साथै भिडियोको समयसीमा पाँच मिनेट रहेको छ।

विश्लेषकका अनुसार इन्स्टाग्रामसँग जोडिएको थ्रेड्सले लगानीकर्तालाई विज्ञापनको अवसर दिन सक्छ। माइक्रोब्लगिङ कम्पनीका नयाँ सिइओ आफ्नो संघर्षरत व्यवसायलाई पुनर्जीवित गर्ने कोसिस गरिरहँदा ट्विटरको विज्ञापनमा थ्रेड्सले तलमाथि गर्न सक्छ।

महिनाअघिदेखि मस्क र जुकरबर्गबीच चलेको ‘दोहोरी’ पछि यो एप आएको हो। यी दुवै धनाढ्यले लस भेगासमा ‘केज म्याच’ लड्ने धम्की पनि एकअर्कालाई दिए थिए।

गत वर्ष अक्टोबरमा मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। तर कर्मचारीको कटौती र कन्टेन्ट मोडोरेस विवादबीच विज्ञापनदाता पलायन हुन थालेपछि यसको मूल्य कम भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *