देश

आफ्नै भवन बनाउन दूरसञ्चार प्राधिकरणले खुमलटारमा किन्यो ४३ रोपनी जग्गा

काठमाडौं । स्थापना भएदेखि भाडाको घरमा बस्दै आएको नेपाल दूरसञ्चार प्राधिकरणले खुमलटारमा ४३ रोपनी जग्गा खरिद गरेको छ । आफ्नै भवन बनाउन प्राधिकरणले सरकारसँग ४३ रोपनी जग्गा खरिद गरेको हो ।

रेडियो नेपालको स्वामित्वमा रहेको जग्गा सरकारले दूरसञ्चार प्राधिकरणलाई भोगचलनका लागि दिएको छ । तत्कालीन सरकारले रेडियो नेपालको खुमलटारस्थित ४३ रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई ४० लाख प्र िआनाको दरमा दिने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको सो प्रक्रिया अगाडि बढाउँदै जग्गा प्राधिकरणको नाममा कायम गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । यसअघि २०७५ फागुन २८ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले नै खुमलटारको जग्गा दूरसञ्चार प्राधिकरण र ज्ञान पार्कको नाममा आईटी पार्क निर्माणका लागि दिने निर्णय गरेको थियो । त्यसमध्ये करिब ४३ रोपनी दूरसञ्चार प्राधिकरणले प्राप्त गर्नेछ ।

दूरसञ्चार प्राधिकरणले कम्तीमा दुई अर्ब ६९ करोड रुपैयाँ रेडियो नेपाललाई तिर्नुपर्ने हुन्छ । यसअघि रेडियो नेपालले सो जग्गा अन्य कम्पनीलाई उपयोगका लागि दिएको थियो । प्राधिकरणले २०७४ सालमै सो जग्गा प्रति आना ४० लाख रुपैयाँमा किन्ने योजनाअनुसार बजेट छुट्याएको थियो । तर लामो समयसम्म जग्गा नपाएपछि त्यत्तिकै रोकिएको थियो । प्राधिकरणलाई दिने भनिएको र ज्ञान पार्क बनाउने भनिएको जग्गामध्ये कतिपय रेडियो नेपालको नाममा नहुँदा समस्या भएको थियो । पछि सरकारले भूमिसुधार मन्त्रालयमार्फत जग्गा रेडियो नेपालको नाममा ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *