सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले इन्टरनेटको गुणस्तरमा ध्यान दिन दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग आग्रह गरेका छन् । नेपालमा विगतको तुलनामा इन्टरनेटको विस्तार भए पनि गुणस्तर अझै भरपर्दो हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।
आइतबार सिन्धुलीगढीमा आयोजित दूरसञ्चार सेवाको गुणस्तर र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उनले सिन्धुलीका सबै वडामा इन्टरनेटको पहुँच विस्तार गर्ने विषयमा दूरसञ्चार प्राधिकरणसँग पहल भइरहेको पनि बताए । सूचना प्रविधिको माध्यमबाट नागरिकहरूले धेरै काम गर्नुपर्ने भएकाले भरपर्दो नेटवर्क विस्तार गर्न दूरसञ्चार प्राधिकरणले नियमन गर्नुपर्ने र आफूले त्यसका लागि पहल गर्ने उनको भनाइ थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले नेटवर्कको सुविधा नपुगेका ठाउँहरूमा स्थानीय जनताको समस्यालाई ध्यान दिँदै आगामी दिनमा सेवाको पहुँच पु¥याउन लागिपर्ने बताए । विगतको तुलनामा सूचना प्रविधिले देशमा विकासमा धेरै फड्को मारेको बताउँदै उनले सिन्धुलीमा देखिएको फाइबरनेटको सेवा विस्तार र गुणस्तरमा ध्यान दिन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
सिन्धुली जिल्लाका सबै ठाउँमा मागका आधारमा इन्टरनेट सेवा वितरण गरिँदै आएको आचार्यले बताए । अन्तरक्रिया कार्यक्रम, अनुसन्धान तथा नागरिकको गुनासोका आधारमा समस्या भएका स्थानमा इन्टरनेट सेवाको पहँुच विस्तार गर्दै आएको र आगामी दिनमा पनि लागिरहने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले इन्टरनेटको सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणले उल्लेखनीय काम गर्दै आएको भन्दै प्राधिकरणलाई धन्यवाद दिए । जहाँ जहाँ इन्टरनेटको पहुँच पुगेको छैन, त्यहाँ त्यहाँ सेवा विस्तार गर्ने काममा प्राधिकरणपछि नपर्ने विश्वास आफूले लिएको उनले बताए ।
स्माइल एडभटाइजिङ प्रा.ली र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल बागमती प्रदेश सचिव किरण श्रेष्ठले जिल्लामा ताररहित फाइबर नेटको पहुँच नपुगेकाले नागरिकले समस्या भोग्नुपरेको बताए । उनका अनुसार सिन्धुली जिल्लामा ताररहित फाइबरनेट सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । जिल्लामा फाइबेर नेटको सुविधा नपुगेपछि तारको प्रयोगमार्फत इन्टरनेटको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । अहिले सबै ठाउँमा सेवाको पहुँच नपुग्दा नागरिकले समयमा भरपर्दो इन्टरनेटको उपभोग गर्न नसकिरहेको उनको भनाइ थियो ।
सिन्धुली जनता माविका विद्यार्थी स्वर्णिम आले मगरले सूचना प्रविधिको पहुँच विगतको तुलनामा उल्लेखनीय भए पनि गुणस्तर नहुँदा बेलाबेला समस्या आउने गरेको सुनाए । हरिहरगढी गाउँपालिका–८ मा फाइबरनेटको विस्तार अन्य स्थानीय तहको तुलनामा न्यून रहेकाले इन्टरनेटको पहुँचमा स्थानीयवासी पछाडि परेको नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका एक प्रतिनिधिले बताए ।




