प्रविधि

प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड जरिवाना

काठमाडौं । आयरल्याण्डको ‘डेटा प्रोटेक्सन कमिसन’ ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) बढी जरिवाना तिराउने भएको छ ।

युरोपेली संघ (ईयू) को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’ विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियनले उल्लेख गरेको छ । कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ । यो जरिवानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ । यसअघि २०२१ मा लक्जमबर्गले एमेजनलाई ६४८ मिलियन डलरको जरिवाना तिराएको थियो ।

आयरल्याण्डको उक्त कमिसन ‘ईयू’ भर फेसबुक र यसको ‘प्यारेन्ट कम्पनी’ मेटाको लागि प्रमुख गोपनीयता नियामक संस्था हो । कमिसनले युरोपेली प्रयोगकर्ताहरूको डेटा अमेरिका ‘ट्रान्सफर’ गर्न रोक्ने अपेक्षा पनि गरिएको छ । यद्यपि, यो निर्णय तत्काल लागू हुने सम्भावना कम छ । मेटालाई निर्णयको पालना गर्न केही समय दिइने अपेक्षा गरिएको छ । जसकारण निर्णयको लागू हुने समय शरद ऋतुसम्म धकेलिन सक्छ । त्यस्तै, कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा पनि गरिएको छ ।

फेसबुकलगायत अनलाइन सर्भिसहरुले ‘स्ट्यान्डर्ड कन्ट्र्याक्चुअ क्लजेज (एससीसी)’ को आधारमा डेटा ‘ट्रान्सफर’ गर्दै आएका छन् । २०२० मा मेटाका नीति विभाग प्रमुख निक क्लेगले ‘डेटा ट्रान्सफर’ रोक्नुपर्ने अवस्था आएमा यसको असर एससीसीमा आधारित रहेका धेरै ठूला व्यवसायहरुमा पर्ने बताएका थिए ।

मेटाले एससीसी वा अन्य कुनै ‘डेटा ट्रान्सफर’को संयन्त्र बिना कम्पनीले ईयूमा फेसबुक र इन्स्टाग्रामलगायतका केही महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन नसक्ने आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको थियो । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *