काठमाडौं । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता कम्पनीमा व्यापक उथलपुथल ल्याइरहेका छन् । कम्पनीका आधाभन्दा धेरै कर्मचारी निकाल्ने समेतका कयौं हेरफेर भएका छन् ।
अब भने ट्विटरका सीईओ समेत रहेका ले कम्पनीको सुत्केरी तथा नवजात शिशुको हेरचाह गर्न पुरुष कर्मचारीलाई दिइने बिदाको नीतिमा नयाँ परिवर्तन गरेका छन् । न्यूयोर्क टाइम्स मा छापिएको समाचार अनुसार कम्पनीले २० हप्ता (४ महीना) रहेको ‘प्यारेन्टल लिभ’ घटाएर २ हप्तामा झारेको छ ।
अमेरिकामा अनिवार्य रूपमा तलबी प्यारेन्टल लिभ दिनु पर्ने कानून छैन । परिवार तथा बिरामी बिदा ऐनका अनुसार निश्चित कर्मचारीहरूले विशेष कारणमा १२ हप्तासम्मको बेतलबी बिदा लिन पाउँछन् । ट्विटरले बिदामा गरेको हेरफेरले अमेरिकामा काम गर्ने अनि तलबी बिदा नीतिले नसमेटिएका कर्मचारी मारमा पर्नेछन् ।
अहिले अमेरिकाको १२ राज्यले मात्रै तलबी परिवार र बिरामी बिदा दिइरहेको छ । न्यू जर्जी र न्यूयोर्कले १२ हप्ताको तलबी बिदाबाहेक पनि २६ हप्तासम्मको जागिरको सुरक्षा भएको बेतलबी बिदा दिन्छन् । क्यालिफोनिर्यामा भने ८ हप्ताको तलबी बिदाको प्रावधान छ ।
कर्मचारी कार्यरत् राज्यको कानूनको आधारमा नयाँ नीति लागू हुने बताइएको छ । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलले पुरुष कर्मचारीहरूलाई १६ हप्तासम्मको प्यारेन्टल लिभ दिँदै आएको छ । महिला कर्मचारीले भने २४ हप्ताको सुत्केरी बिदा पाउँछन् ।
ट्विटरको ‘प्यारेन्टल लिभ’ घटाउनेबाहेक खर्च कम गर्न मस्कले कर्मचारीहरूको ‘वेलनेश’, वाई–फाईको खर्चलगायत अन्य सेवा सुविधाहरू पनि खारेज गरेका छन् । एजेन्सी




