काठमाडौं । चीनको ठूलो प्रविधि कम्पनी बाइटडान्सले अमेरिकामा नयाँ सामाजिक सञ्जाल एपलाई अगाडि बढाइरहेको छ ।
कम्पनीको सबैभन्दा चलेको सामाजिक सञ्जाल शर्ट भिडियो शेयरिङ एप TikTok लाई सरकारी अधिकारी र विभागहरूले चलाउने स्मार्टफोनमा डाउनलोड गर्न रोक लगाइएको अनि एपमाथि पूरै प्रतिबन्ध लाग्ने भय कायमै रहेको समयमा कम्पनीले टिकटकलाई विस्थापित गर्ने नयाँ प्रडक्टमाथि जोड दिइरहेको छ ।
यो कम्पनीको व्यावसायिक रणनीतिको हिस्सा भएको ठानिएको छ । ByteDance ले Lemon8 लाई टिकटकको विकल्पको रूपमा अगाडि बढाइरहेको जस्तो देखिएको जर्मन मार्शल फन्डमा उदीयमान प्रविधिका लागि सिनियर फेलो लिन्डसे गोम्र्यानले बताइन् ।
मार्चमा अमेरिकामा एपलाई औपचारिक रूपमा लञ्च गर्नुअघि बाइटडान्सले क्रियटरहरूलाई यसको नयाँ लेमनएट प्लेटफर्ममा बोलाएको थियो । लेमनएट Instagram and Pinterest को मिश्रण हो । यसलाई पहिलो पटक जापानमा सन् २०२० को शुरुमा लञ्च गरिएको थियो । यो स्वास्थ्य, समृद्धि र सुन्दरतामा आधारित लाइफस्टाइल एप (Lifestyle App) हो ।
एनालिटिक्स कम्पनी डेटाडटएआईका अनुसार लेमनएट ६९३ स्थानमाथि उक्लिएर सबैभन्दा धेरै डाउनलोड हुने दोस्रो एप बनेको थियो । एप लञ्च भएयता लेमनएट विश्वभर १ करोड ७० लाख पटक डाउनलोड भएको एपटोपियाले भनेको छ ।
लेमनएटमा प्रयोग गरिएका केही अल्गोरिदमहरू टिकटकमा भएको जस्तै वा ठ्याक्कै त्यस्तै छ । बाइटडान्सले टिकटकमा गरेको लगानीलाई डाइभेष्ट गर भनेर अमेरिकाले दबाब दिइरहेकै समयमा अमेरिकामा लेमनएटको लोकप्रियता चुलिएको छ ।
मार्चमा अमेरिकी कानूननिर्माताहरूले चीनको प्रभाव बगेर स्वतन्त्र भएर चल्न सक्ने टिकटकको मातृ कम्पनीको क्षमताबारे टिकटकका सीईओ शाउ जी चिउलाई कंग्रेसमा र्याखर्याख पारेका थिए । अमेरिकामा टिकटकमाथि पूरै बन्देज लाग्यो भने लेमनएटले यसको विकल्पको रूपमा काम गर्नेछ ।
तर, टिकटकलाई विस्थापित गर्ने एप बनाएर मात्रै अमेरिकामा बाइटडान्सले धर नपाउने विश्लेषकहरू बताउँछन् । चीनसँगको तनाव चर्किरहेकै बेलामा अमेरिकाले जुनसुकै चिनियाँ एपहरूमाथि निगारानी गर्न छाड्ने छैन ।एजेन्सी




