काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस विषयमा बिहीबार टेलिकम र प्राधिकरणबीच दुई सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन् ।
पहाडीले विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । प्राधिकरणका निर्देशक घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुसी व्यक्त गरे ।
विद्युत प्राधिकरणले विद्युत महसुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपतबारे जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रणलगायतका कार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ ।
१०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । टेलिकमले प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।




