प्रविधि

६ महीनामा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका २१ हजार कर्मचारीको जागिर चैट !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक को मातृ कम्पनी मेटा ले व्यापक कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । कम्पनीले बुधवार कम्पनीभर बृहत् स्तरमा कर्मचारीलाई कामबाट निकाल्न लागेको बताइएको छ ।

कम्पनीका संस्थापक मार्क जुकरबर्ग को कम्पनीलाई थप कार्यकुशल बनाउने लक्ष्य हासिल गर्न टिम र कामको पुनःसंरचना गर्ने क्रममा फेसबुक, ह्वाट्सएप , इन्स्टाग्राम र रियालिटी ल्याब्स सबैतिर कर्मचारीलाई निकाल्ने तयारी भइरहेको संकेत मेटाले गरेको छ ।

मेटाले व्यवस्थापकहरूलाई बुधवार नै रोजगारी कटौतीको घोषणाको तयारी गर्न सूचित गरेको बुझिएको छ । खर्च कटौती गर्ने कम्पनीको प्रयासअन्तर्गत कम्पनीले थप १० हजार कर्मचारीलाई कामबाट निकाल्न लागेको हो । जुकरबर्गले मार्चमा नै कर्मचारी कटौतीको घोषणा गरेका थिए । मेमा कटौतीको नयाँ चरण शुरु हुनेछ ।

५ महीनाअघि नोभेम्बरमा मेटाले आफ्नो कार्यबलको करीब १३ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको थियो । त्यति बेला करीब ११ हजार जागिरविहीन बनेका थिए । कम्पनीले अहिले भनेअनुसार कर्मचारीलाई जागिरबाट निकाले करीब ६ महीनामा २१ हजारको जागिर जानेछ ।

कम्पनीले पहिलो त्रैमासदेखि नयाँ कर्मचारी भर्ती पनि रोक्का गरेर राखेको छ । सिलिकन भ्यालीभर व्यवसायहरूले समेत अहिले खर्च कम गर्न कर्मचारी कटौती सहितका अन्य उपायहरू अपनाउने होड चलेको छ ।

कम्पनीले सकेसम्म आफूलाई पातलो बनाउन अनि व्यवसाय र प्रशासनिक कर्मचारी एवम् प्राविधिक र इञ्जिनियरहरूबीचको अनुपातलाई सन्तुलित राख्ने लक्ष्य लिएको व्यवस्थापकहरूको नाममा जारी गरिएको मेमोमा जुकरबर्गले संकेत गरेका छन् ।

समूहहरूलाई पुनःसंगठित गरिने अनि बाँकी रहेका कर्मचारीहरूलाई पनि नयाँ व्यवस्थापकहरूको मातहतमा कामको जिम्मा दिइने बुझिएको छ । मेटाले बुधवार उत्तर अमेरिकामा सम्भव भएका सबै कर्मचारीहरूलाई घरबाटै काम गर्ने भएको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *