काठमाडौं। दुई साताअघि काठमाडौं अवतरणका क्रममा इन्ट्री पोइन्ट ‘भट्टे डाँडा’ मा कैफीयत देखिएको कतार एयरवेजलाई नागरिक उड्डयन प्राधिकरणले चेतावनी दिएको छ।
गठित समितिले कम्पनीलाई नेपाल उडानका लागि फ्लाइट इन्फर्मेशन रिजन ‘एफआइआर’ बारे जानकार जनशक्ति परिचालन गर्न निर्देशन दिएको हो।
‘नेपालको टेरेनको बारेमा जानकार जनशक्ति परिचालन गर्न निर्देशन दिइएको छ। यहाँको आइएफआर प्रोसिड्योर बुझेको जनशक्ति राख्न निर्देशन दिइएको छ।’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आउँदो दिनमा कम्पनीलाई यस्तो त्रुटी नदोहोर्याउनका लागि पत्राचार गरिएको छ
दुई साता अगाडि नेपाल वायुसेवा निगम, कतार एयरवेज र बुद्ध एयरको जहाज काठमाडौं प्रवेश विन्दु नजिक होल्डमा रहँदा कतार एयरवेजको जहाजको उचाई दुरीमा त्रुटी देखिएकोका कारण ‘रेडियो अल्टिमिटर अलर्ट’ आएको थियो।
निगमको ठ्याक्कैमाथि कतार एयरवेज र तल बुद्ध एयरको जहाज थियो। गुराँसमा होल्ड गर्ने क्रममा ११,५०० फिटमा बुद्ध एयर, १२,५०० फिटमा नेपाल वायुसेवा निगम र १३,५०० फिटमा कतार एयरवेजको जहाज थियो।
होल्डमा रहेका तीनैवटा जहाजको फरक १००० फिट मात्रै थियो। त्यही दूरीमा रहेका बेला एक्कासी कतार एयरवेजको जहाज १२८०० फिटमा आएको थियो। एयर ट्राफिक कन्ट्रोलर९एटीसी०को अनुमति नै नलिइ अचानक कतारको जहाज तल आएपछि निगमलाई अलर्ट आएको प्राधिकरणले जनाएको छ।




