काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्न पुगे ।
मेलाको अवलोकन गर्दै राउतले भने, ‘नयाँ प्रविधिलाई सबभन्दा पहिला बुझ्न सक्ने मान्छे राज्यका संरचनामा हुनु पर्यो ।’ विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनको तर्क थियो ।
राउतले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताए । अध्यक्ष राउतले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोडसमेत दिए ।
प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्याउनुपर्ने भन्दै राउतले प्रविधिहरूको प्रयोग गर्दै गर्दा त्यसको सुरक्षाको प्रत्याभूति पनि दिलाउन सक्नुपर्ने औँल्याए । प्रविधिगत काम गर्दा धेरै कुरा सोचेर मात्रै कदम चाल्नु पर्ने उनको सुझाव छ ।
सुरक्षा र विश्वसनीयताको प्रत्याभूति पनि दिलाउन सके नयाँ नयाँ प्रविधि अङ्गीकार गर्न सरकारलाई सहज हुने राउतको भनाइ थियो । उनले विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा चेतना हुनुपर्नेमा जोड दिए ।




