काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको छ । दूरसञ्चारले विद्युत् लाइनको आपूर्ति काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै विद्युत् प्राधिकरणलाई यस्तो चेतावनी दिएको हो ।
विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्धका कारण बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेपछि दूरसञ्चारले प्राधिकरणलाई कार्वाही गर्ने जनाएको छ ।
‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।’ दूरसञ्चारले सार्वजनिक गरेको सूचनामा भनिएको छ । हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भएकाले आपसी छलफलबाट समस्याको समाधान गर्न विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई समेत आग्रह गरेको छ ।




