न्युयोर्क । सामाजिक संजाल ट्विटरले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यमका केही चर्चित पत्रकारहरूको खाता निलम्बित गरिदिएको छ ।
यसरी निलम्बित गरिएका ट्विटर खाताहरूमा सीएनएनका पत्रकार डोनी ओ सुलिभान, न्यु योर्क टाइम्सका रयान म्याक, वासिङ्गटन पोष्टका ड्रिउ हार्वेलका साथै ट्विटरका नयाँ मालिक इलोन मस्कका बारेमा पछिल्ला साताहरूमा आक्रामक रूपमा समाचार लेख्ने पत्रकारहरू रहेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी समय अनुसार बिहीबार साँझ ती खाताहरू निलम्बित भएका हुन् ।
कुनै पूर्व सूचना, जानकारी वा कारण नखुलाईकनै उनीहरूको एकाउन्ट प्रतिबन्धित गरिएको र टिप्पणीका लागि गरिएको आग्रहको मस्क वा ट्विटर कम्पनीले कुनै जवाफ पनि नदिएको सीएनएनले अगाडी लेखेको छ । पत्रकारहरूको खाता निलम्बित गरिएको समाचार अनलाइनमा सार्वजनिक भएपछि मात्रै मस्कले ट्विट गर्दै वैयक्तिक सूचना सार्वजनिक गर्न नपाउने नियम सबैका लागि समान रहेको र पत्रकारहरूका हकमा पनि सो लागू हुने स्पष्टीकरण दिएका छन् ।




