काठमाडौं । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीको असरबाट खानेपानीको मुहान बचाउनका लागि सूरुङको मुख बन्द अवस्थामा थियो ।
गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । उक्त प्रशोधित पानी आज (बिहीबार) बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना छ ।
भोली (शुक्रबार) बिहान पानी औपचारिक घर–घरको धारामा पठाइने उनको भनाइ छ । पानी वितरणका क्रममा सबै ठाउँमा एकै पटक पानी पठाउन नसकिने भएपनि सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।
‘उपत्यकाको विभिन्न १० स्थानमा रहेको रजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्ने उनको भनाइ छ , । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्राविधिक समस्या केही कतै आउन सक्ने भएकाले गर्दा एकै समयमा सबै ठाँउमा पानी वितरण हुन नसके पनि एक हप्ता भित्र सबै ठाउँमा पानी पुगिसक्ने छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) यसको व्यावस्थापन गर्ने निर्देशक श्रेष्ठले बताए । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको उनको भनाइ छ ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भोली (शुक्रबार ) बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरणको उद्घाटन गरिने भएको छ । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याउन सफल भएको उनको भनाइ रहेको छ । हेडवर्क्सलाई स्थायी संरचनाको रुपमा कसरी निर्माण गर्ने योजना बनिसकेको छैन तर पनि हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७१७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।




