काठमाडौं । आगामी असोज ४ गतेदेखि नेपालमा ‘साउथ एसिया टेलिकम्युनिकेसन रेगुलेटर्स काउन्सिल (एसएटीआरसी)’ वर्कशप आयोजना हुने भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले धुलिखेलमा तिनदिने वर्कशपको आयोजना गर्न लागेको हो । वर्कशपमा दक्षिण एसियाका दूरसञ्चार नियामकसहित विभिन्न कम्पनी र साझेदारहरूको सहभागिता हुने नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले जानकारी दिए ।
वर्कशपमा एसएटीआरसीका महासचिव मासानोरी कोन्डोसहित दूरसञ्चार क्षेत्रसँग सम्बन्धित ३० जना विदेशी र ५० जना नेपाली प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।
आचार्यका अनुसार कार्यक्रममा कुल १० ओटा सत्र चल्ने र फाइभजीको आवश्यकता र फाइभजी लागू गर्दा हुनसक्ने चुनौतीको विषयमा विशेष छलफल हुनेछ ।
सत्रमा हुवावे, जीएसएमए, क्वालकम इन्डिया, भुटान, नेपाल, माल्दिभ्स तथा दूरसञ्चार कम्पनी, फेसबुक र एसएटीआरसीका प्रतिनिधिले प्रस्तुति दिनेछन् । नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहकको घरसम्म सेवा दिनेसँगै नयाँ प्रविधि ब्लकचेन, एआई, मसिन लर्निङ लगायतका विषयमा पनि छलफल हुनेछ । वर्कशपको अन्तिम सत्रमा भने फेसबुक र एसएटीआरसीका प्रतिनिधिले व्यक्तिगत डेटा सुरक्षासँग सम्बन्धित विषयमा प्रस्तुति दिनेछन् ।
आचार्यका अनुसार वर्कशपमा विशेषगरी फाइभजी, आर्टिफिसियल इन्टिलिजेन्स, ब्लकचेन, मसिन लर्निङ लगायतका विषयमा छलफल हुनेछ ।
एसएटीआरसी दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरुको साझा संगठन हो । यसअन्तर्गत सदस्य मुलुकहरूले हरेक वर्ष वर्कशप आयोजना गर्दै आएका छन् । सोहीअनुसार यो वर्ष नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा नेपालमा वर्कशप आयोजना हुन लागेको हो ।
वर्कशपमा सार्क क्षेत्रका सबै देशका साथै इरानबाट पनि प्रतिनिधि सहभागी हुने निश्चित भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।




