बागलुङ । केही दिन पहिलेसम्म त्यस क्षेत्रमा मोबाइल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्बन्धित ठाउँमा घन्टौँ लागेर धाउनुपर्थ्यो ।
मोबाइल सेवा नहुँदा निसीखोला गाउँपालिका–१ देविस्थानस्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झन्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आइरहेका थिए ।
अहिले भने नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन् ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफ्नो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त दुर्गम गाउँहरुलाई लक्षित गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।
स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजीमार्फत् भ्वाइस सेवा सञ्चालनमा ल्याएको उनले बताए । मोबाइल सेवा सुचारु भएसँगै मोबाइल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भने, “यसभन्दा अगाडि त्यस स्थानमा कुनै पनि मोबाइल सेवा थिएन त्यहाँका स्थानीयबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाइ भोग्दै आउनुभएको थियो ।”
अब मोबाइल सेवा सञ्चालनमा आएसँगै उक्त समस्या हटेको छ । छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन टेलिकमले गृहकार्य गरिरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नति गर्ने टेलिकमले जनाएको छ ।
“मोबाइल सेवा नहुँदा यहाँका नागरिकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकमसँग समन्वय गरेका थियौँ । भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकमसँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गर्न सफल भयौँ,” समाजसेवी भरत पुनले बताए ।
पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न पाउँदा आफूहरु खुसी भएको लेबाङ निवासी मनिलाल बुढा मगरले भने ।
मोबाइल सेवा सञ्चालन भएपछि निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थानको साविक वडा नम्बर ३ र ४ का ५ सय बढी घरधूरी लाभान्वित भएको स्थानीय श्रीप्रसाद विश्वकर्माले जानकारी दिए ।




