देश

धुलिखेल–काठमाडौं रुटमा ‘हाइड्रोजन बस’ सञ्चालनमा आउने

काठमाडौं ।धुलिखेल–काठमाडौं रुटमा वैकल्पिक उर्जाको रुपमा हाइड्रोजन ग्यास प्रयोग गरेर बस सञ्चालन गर्न लागिएको छ। २ वर्षभित्र नमूनाको रुपमा धुलिखेल–काठमाडौं रुटमा २ वटा बस सञ्चालन गर्ने गरी काठमाडौं विश्विद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पेट्रोल वा डिजेल इञ्जिनलाई विस्थापन गरेर इन्धनको रुपमा हाइड्रोजन ग्यास प्रयोग हुने बताइएको छ ।

‘इन्धनको लागि पेट्रोलियम पदार्थको प्रयोगले लागत बढ्नुका साथै वातावरणमा पनि त्यसको असर पर्दै आएको छ, वैकल्पिक उर्जाको रुपमा हाइड्रोजनको प्रयोग गर्न सानो प्रयास थालेका हौं,’ केयूस्थित ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराजसिं थापाले भने, ‘नमूनाको रुपमा पहिलो चरणमा २ वटा बसबाट सञ्चालन हुनेछ ।’

वैकल्पिक इन्धनका रुपमा भान्सामा पनि हाइड्रोजन ग्यास प्रयोग गर्नेबारे पनि नमूना परिक्षण गरिनेछ । समझदारी अनुसार प्रविधिको क्षेत्रमा विश्वविद्यालयले, नीति र श्रोतको लागि नगरपालिका र श्रोत जुटाउन रोटरी क्लबले काम गर्ने बताइएको छ ।

केयूको प्राज्ञिक–औद्यागिक संयोजक राम लामाका अनुसार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल आयल निगमलगायत निकाय समेतको सहयोगमा केयूमा डेढ वर्षदेखि हाइड्रोजन ग्यासका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ ।

हाइड्रोजन ग्याससम्बन्धी नीति बनाउन सरकारले गठन गरेको कार्यदलका सदस्यसमेत रहेका थापाका अनुसार पानीमा ८० देखि ९० प्रतिशत हाइड्रोजन हुन्छ ।

विद्युतको माध्यमबाट त्यसलाई छुट्याइन्छ । एक किलोग्राम हाइड्रोजनमा ३० युनिट बराबर बिजुली हुन्छ । हाइड्रोजनलाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्न सकिए त्यसले शून्य कार्वन उत्सर्जनमा सहयोग गर्ने उनले बताए ।

समझदारीमा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जयबहादुर राईले हस्ताक्षर गरेका छन् ।

उपकुलपति थापाले वातावरण संरक्षणसँगै देशका देशको आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *