बैतडी । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लामा सोमबार रातीदेखि विद्युत्, इन्टरनेट तथा फोन सेवा अवरुद्ध भएको छ । वर्षाका कारण कैलालीको खानीडाँडामा विद्युत् पोल ढलेपछी नेपाल टेलिकमले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवा पुर्ण रुपले अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । विद्युत लाइनसँगै टेलिकमको फाइवरमा समेत क्षति पुगेको छ ।
नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाका प्रविधिक अधिकृत सुरेन्द्र कार्कीले भने, ‘खानीडाँडामा सुदूरपश्चिमका पहाडी जिल्लाहरू जोड्ने थ्रिफेज विद्युत् पोलमा रुख ढलेकाले फाइबरमा क्षति पुगेको छ । जसका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरूको ल्यान्डलाइन फोन सेवा, फाइबर तथा एडिएसएल इन्टरनेट सेवा र नमस्ते फोन सेवा अवरुद्ध भएको हो । प्राविधिकहरू बिग्रेको ठाउँमा जान खोजे पनि सडक अवरुद्ध भएकाले पुग्न सकेका छैनन् ।’
लगातारको बर्षाले काम गर्न असहज भएको नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । अवरुद्ध भएको फाईबर तथा विद्युत् सेवा बनाउने प्रयास गरिरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । टेलिकमको सेवा अवरुद्ध भए पनि एलसेलले भने काम गरिरहेको छ ।




