काठमाडौं ।दूरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बुधवार काठमाडौंमा आयोजित ‘दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक् अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले दूरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताए । टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारका परेको भन्दै उनले यसतर्फ सम्बन्धित निकाय गम्भिर हुनुपर्ने बताए । बारम्बार सेवा अवरुद्ध हुँदापनि सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो उनको थियो ।

बरिष्ठ पत्रकार हरिविनोद अधिकारीले इन्टरनेट सेवालाई बढीभन्दा बढी जनताको पहुँचमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले आफ्ना सेवाहरुलाई क्रमशः अपग्रेड गरिरहेको बताए । हाल टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उनको भनाइ थियो ।
प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफूहरुले गर्नुपर्ने प्रक्रिया लामो हुँदा भनेकै बेलामा खरिद गर्न नसकेका कारण प्रतिस्पर्धा गर्न गाह्रो परेको उनले विवशता पोखे ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारीता कमजोर भएको भन्दै यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताए ।
प्राधिकरणले मध्यपहाडी क्षेत्र भएर ७७ जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गरिरहेको अर्यालले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य भिमसेनदास प्रधानले सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा राम्रो नीति बन्न नसकेको जिकिर गरे ।
उनले विभिन्न कम्पनीले कार्टेलिङ गर्दा उपभोक्ताहरु मारमा परेको भन्दै सरकार कार्टेलिङको सहयोगी हुनु नहुने धारणा राखे ।





