प्रविधि

पोम्जोक डाँडामा मोबाइल टावर राखेसँगै सेवाग्राहीलाई सुविधा

डोल्पा। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गत पर्ने पोम्जोक डाँडामा नमस्ते सेवाको मोवाइल टावर निर्माण गरिएको छ।

नेपाल टेलिकमको प्राविधिक समुहले भदौ अन्तिम साता टावर निर्माणकार्य सम्पन्न गरेको हो । टावर निर्माण भएपछि नमस्तेको फोन सेवा सुचारु भएको छ ।

टावर बनेपछि शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं १ मा पर्ने निजाल,लुरी,कोमास लगायतका ग्रामिण बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् ।

उक्त टावरले डोल्पोबुद्ध गाउँपालिका अन्तर्गत वडा नं ६ मा पर्ने सिमेन,फालमा समेत सेवा दिन सुरु गरेको प्राविधिक टोलीले जनाएको छ ।

मोवाइल टावर उद्घाटन समारोहका उपस्थित डोल्पाली
दुईवटै स्थानीय तहको लगानीमा टावर निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिए।

टावर निर्माणका लागि आफ्नो गाउँपालिकालेमात्रै दश लाख रकम लगानी गरेको गुरुङ्गले बताए।

यो टावर बनेसँगै उपल्लो डोल्पाका ८० प्रतिशत ग्रामिण गाउँबस्तीहरु सञ्चारको पहुँचमा जोडिएको उनको भनाई छ।

जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको उपल्लो डोल्पामा टावर बनेर सेवा सुरु भइसकेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ का अध्यक्ष जिग्मे बुढाले बताए ।

यस अघि टेलिफोन सेवाको अभावमा कष्टकर जीवन बिताउँदै आएका नागरिकहरु अहिले घरमै बसेर देश तथा विदेशमा खबर आदान प्रदान गर्न पाउँदा खुशी भएको अध्यक्ष बुढाले उल्लेख गरे।

उपल्लो डोल्पासम्म सडक बिस्तार नभएकाले टावरका सम्पुर्ण सामानहरु हेलिकप्टर चार्टर गरेर उपल्लो डोल्पा पुर्याइएको स्थानीय तहले जनाएका छन् ।

यसरी हेलिकप्टर चार्टर गरेर सामान लैजाँदा सामान भन्दा पनि ढुवानी भाडा महंगो पर्ने गरेका उपल्लो डोल्पाबासीको गुनासो छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *