प्रविधि

चिनियाँ हुवावेई कम्पनीकी उच्च अधिकारी क्यानाडाबाट रिहा

क्यानाडा । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै क्यानाडाबाट चीन फर्किएकी छन्।

उक्त कम्पनीको आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८ को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानाडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी हुवावेई संस्थापककी छोरी वान्जूलाईक्यानाडामै नजरबन्दमा राखिएको थियो।

वान्जू पक्राउ परेसँगै चीनको अमेरिका र क्यानाडासँगको सम्बन्ध चिसिएको थियो। सम्झौतापछि शुक्रवार अमेरिकी विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानाडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भएकी हुन् । वान्जूको पक्राउको बदलामा चीनले पनि क्यानाडेली नागरिकहरूलाई पक्राउ गरेको थियो।

यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ,- क्यानाडामा थुनामुक्त भएपछि उनले सम्वाददाताहरूलाई भनेकी छन् ।

एएफपी समाचार संस्थाका अनुसार लगत्तै वान्जू एयर चाइनाको विमान मार्फत सेन्जेन सहर फर्किएकी थिइन्। वान्जूलाई छुटाउन अमेरिका र चीन बीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। तापनि दुई देशका कूटनीतिज्ञ बीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ।

विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेईमाथि बैंकमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ।अमेरिकाको न्यायालयले वान्जूमाथि लगाइएको अभियोजन तत्काललाई अघि नबढाउने सहमति भएको बताएपछि उनी रिहा भएकी थिइन्। अब उनीमाथि लागेको मुद्दा कम्तीमा सन् २०२२ को डिसेम्बरसम्म अघि बढाइने छैन।

क्यानडेली अभियोजनकर्ताहरूले भ्यान्कुभरको अदालतलाई उनलाई अमेरिकामा सुपुर्दगी गर्ने निर्णय फिर्ता लिइएको जानकारी गराउँदै उनको रिहाइको आदेश माग गरेका थिए। लगत्तै न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका थिए।

उनी भ्यान्कुभरमै रहेको एउटा घरमा झन्डै तीन वर्षदेखि नजरबन्दमा थिइन् । वान्जू सन् २०१८ को डिसेम्बरमा भ्यान्कुभरबाट पक्राउ परेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *