प्रविधि

१४ वर्षमुनिका प्रयोगकर्ताले चीनमा दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने

पेचिङ (चीन) । चीनमा १४ वर्ष मुनिका बालबालिकाले प्रतिदिन ४० मिनेटभन्दा बढी शर्ट भिडियो शेयरिङ एप टिकटक चलाउन नपाउने भएका छन् ।

चिनियाँ भर्सनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ शुरु गरेको हो । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले हालै वक्तव्य जारी गर्दै १४ वर्ष मुनिका प्रयोगकर्तालाई टिकटक चलाउन समयावधि तोकिएको उल्लेख गरेको छ ।

वक्तव्यमा उल्लेख भएअनुसार अव उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउने छन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

वास्तविक नामबिना बनाइने टिकटकमाथि कसरी निगरानी गरिन्छ भन्नेबारे चाहीं कम्पनीले केही खुलाएको छैन । कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

एक तथ्यांक अनुसार चीनमा करीब टिकटकका ६० करोड प्रयोगकर्ता रहेका छन् । बाइटडान्स चीनको सीईओ केली चाङका अनुसार गत वर्ष २ करोड २० लाखभन्दा बढी प्रयोगकर्ताले आफ्ना भिडियो सामग्रीमार्फत झन्डै ४१ बिलियन युआन आम्दानी गरेका थिए । यहाँ युवा पुस्तामाझ टिकटक एप निकै लोकप्रिय बनिरहेको छ ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार टिकटकको विश्वव्यापी व्यवसायको मूल्यांकन ५० अर्ब डलर बराबर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *