खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित नेपाल टेलिकमको टावरमा उपकरण जडानमा ढिलाइ हुँदा सेवाग्राही मारमा परेका छन् । खार्पा र दुबेकोलमा टेलिकमको टावर ठडिएको झन्डै चार वर्ष बितिसकेको छ । तर, आवश्यक उपकरण जडानमा ढिलाइ हुँदा सेवाग्राही मारमा परेका हुन् । खार्पामा २०७४ र दुवेकोलमा २०७६ मै टावर ठडिएको थियो ।
टेलिकमले आवश्यक उपकरण जडानमा ढिलासुस्ती गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । दुवेकोलको टावर भने गाउँपालिकाको आग्रहमा टेलिकमले निर्माण सुरु गरेको थियो । तर, आवश्यक उपकरण जडान नगर्दा टावरले काम नगरेको गाउँपालिकाले जनाएको छ । स्थानीयले भने डाँडामा ठडिएको टावर हेर्दै आक्रोश पोख्ने गरेका छन् । झट्ट हेर्दा टेलिकमको टावर ठडिएको देखिए पनि रेडियो इक्विपमेन्टलगायतका उपकरण जडान नहुँदा टावरले काम नगरेको टेलिकमले जनाएको छ ।
गाउँपालिकाको केन्द्र हरम्टारमा समेत भनेका बेला फोन नलाग्ने समस्या छ । विशेषगरी गाउँपालिकाको तल्लो क्षेत्रमा फोन नलाग्ने समस्याले स्थानीय आजित छन् । राम्ररी फोन नचल्ने समस्यकै कारण कोभिड-१९ को महामारीका समयमा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताए ।
कोभिड महामारीका कारण विदेशबाट रेडियो इक्विपमेन्ट ल्याउन ढिलाइ भएकाले सेवा सुरु गर्न नसकिएको टेलिकमले जनाएको छ । रेडियो इक्विपमेन्ट ल्याउने बेला विदेशमा लकडाउन भएको र इक्विपमेन्ट ल्याइसकेपछि नेपालमा लकडाउन भएकाले उपकरण जडानमा ढिलाइ भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।
टेलिकमको हुमापोखरी टावरमा पनि समस्या
हुमापोखरीस्थित टेलिकमको टावरमा समस्या आउँदा जन्तेढुंगा गाउँपालिकामा दुई सातादेखि टेलिफोन सेवामा समस्या आएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुमापोखरीमा रहेको टावरमा विद्युत आपूर्ति नहुँदा फोन सेवामा खराबी आएको हो । विद्युत नभएको समयका लागि राखिएको सोलारले समेत काम गर्न छाडेकाले फोनमा समस्या निम्तिएको टेलिकमले जनाएको छ । टेलिकम टावरमा विस्तार गरिएको विद्युतको ट्रान्सफर्मर बिग्रिएकाले समस्या आएको प्रमुख पन्थीले बताए ।




