प्रविधि

सूचना र प्रविधिको पहुँच विस्तार प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले सूचना र प्रविधिको पहुँच विस्तारका कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यप्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिँदै सूचना र प्रविधिको पहुँच विस्तारका कार्यक्रमहरुलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले सबै स्थानीय तहका वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरूमा इन्टरनेट सेवा तत्काल पुर्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति खड्काले बताइन् ।

त्यस्तै उनले भर्चुअल बैठक सञ्चालनसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्न र सम्पूर्ण सरकारी कार्यालयहरूलाई डिजिटाइज गर्ने प्रक्रिया तत्काल अघि बढाउन समेत सञ्चारमन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

त्यस्तै, मोबाइलबाट हुने अवैध कार्य रोक्ने प्रणाली व्यवस्थित गर्न पनि समितिले निर्देशन दिएको छ भने हुलाक सेवालाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको सभापति खड्काले जानकारी दिइन् ।

बैठकमा सञ्चार मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले सूचना र प्रविधिको क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न आवश्यक कानुन संशोधन गरिएको र सदनमा पेश गरिएको जानकारी दिए । सूचना र प्रविधिको क्षेत्रलाई सुधार गर्न सरकार गम्भीर रहेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको समान पहुँच पुर्याउन र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सेवाको गुणस्तर बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *