प्रविधि

टेलिकमकाे एसईई अफर – एक महिना निःशुल्क डेटा, कल र एसएमएस

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

कम्पनीले निःशुल्क डेटा, भ्वाइस र एसएमएससहितको सुविधाको आकर्षक अफर ल्याएको हो । विद्यार्थीसँग पहिलेदेखि नै टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त स्टुडेन्ट रजिक्ष्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अन रिर्चाज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु। ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसवापत यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको मोबाइलबाट १६०० मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । स्टुडेन्ट रजिष्ट्रेसन प्याक र बोनस अन रिर्चाज प्याकबाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिष्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *