काठमाडौं ।चौधरी ग्रुपअन्तरगतको टेलिकम कम्पनीले हालै नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ।
चौधरी समूहको सीजी टेलिकम्युनिकेशन्स प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो।
यो अनुमति पत्र प्राप्त गरेसँगै कम्पनीको लागि बाहिर विदेशबाट इन्टरनेट ब्याण्डविथ नेपाल भित्र्याउने र इन्टरनेट सेवा प्रदायकहरुलाई बिक्री गर्ने बाटो खुला भएको छ ।
सीजीटेल भनेर चिनिने सो कम्पनीले हालै मात्र प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो ।कम्पनीले २ करोड रुपैयाँको अधिकृत पूँजी देखाएको छ ।
यसअघि ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको तर मोबाइल सेवाको अनुमतिपत्र प्राप्त गर्न नसकेको कम्पनीले अहिले भने ब्याण्डविथको कारोबार गर्ने तयारी गरेको हो । सीजीले एसटिएम टेलिकम सञ्चार प्रालिलाई किनेसँगै ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो।
केहि साता अघि मात्र कम्पनीले आउँदो वर्षसमेतको गरेर बाँकी बक्यौता रकम सबै चुक्ता गरेको थियो ।
विदेशबाट इन्टरनेट सेवाको ब्याण्डविथ आयात गर्न र इन्टरनेट सेवा प्रदायकहरुलाई स्वदेशमा बिक्री गर्नका लागि नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र आवश्यक पर्दछ । सो अनुमतिपत्र लिएर दूरसञ्चार प्राधिकरणको स्वीकृतीमा ब्याण्डविथ विदेशी कम्पनीहरुसँग किनेर भित्र्याउन सकिनेछ ।




