प्रविधि

फेरियो हुलाकीको जिम्मेवारी

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका यम बहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको सम्झना गर्छन् । उनी पछिल्लो १०/१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउँछन् । उनी मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्छन् ।

जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको छ । बयालीस स्थायी कर्मचारी छन् । करारमा १५ कार्यरत रहेका छन् । जिल्लाका अतिरिक्त हुलाक कार्यालयमा १ सय ५१ कर्मचारीबाट सेवा प्रदानका लागि रहे पनि हुलाक सेवाप्रति नागरिकको आकर्षण ओरालो लागेको छ । सूचना प्रविधिको विकाससँगै हुलाकको सेवामा पनि फेरिएको छ । हुलाकबाट विगतमा चिठ्ठीपत्र ओसारपसार गर्ने सेवा अहिले आएर हराएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को पुस महिनासम्म साधारणपत्र ९ सय ५२ आदानप्रदान गरेको जनाएको छ । जिल्लामा हुलाक कार्यालय एक, इलाका हुलाक कार्यालय १३ र अतिरिक्त हुलाक कार्यालय ५२ रहेका छन् ।

गत पुस महिनासम्म ११ हजार ५ सय १५ रजिष्ट्रिपत्र, ९ सय ५२ साधारणपत्र, ७ हजार ६ सय ७९ पत्रपत्रिका, द्रूतपत्र ३९, वैदेशिक पार्सल पाँच रजिष्ट्रि पुलिन्दा छ, बुक पोष्ट पोष्टकार्ड २ सय ९३ र बीमापत्र पाँचवटा सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिए । कोरोनाका कारण झण्डै आधाभन्दा बढी पत्रपत्रिका हुलाक कार्यालयमा नै कमी आएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

हुलाकबाट अहिले जिल्लास्तरमा सञ्चालित एफएम रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, रोयल्टी सङ्कलनका कामसमेत हुलाकबाट हुँदै आएको छ । हुलाक कार्यालयबाट एफएम तथा पत्रकारको कामका लागि जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएको छ । पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन नवीकरणका लागि निवेदन सङ्कलन हुन्छ । कार्यालयका प्रमुख देव बहादुर थापा सारुकाअनुसार कार्यालयले डाँक सेवाबाट सम्पादित कार्यबाहेकका सहुलियतदरमा पत्रपत्रिका दर्ता र नवीकरण, हुलाक वस्तुको आयात र निर्यात, नयाँ पोष्टबक्स नम्बरको नवीकरण र विस्तार, टिकट बिक्री हुँदै आएको छ ।

चालु आव २०७७÷७८ को गत पुस महिनासम्म झण्डै रु ११ लाख ९० हजार ७४ राजश्व सङ्कलन गरेको छ । सूचना अधिकारी भण्डारीका अनुसार हुलाक टिकट बिक्रीबाट रु छ लाख ९० हजार ९ सय, पोष्टबक्स रु दुई हजार ६ सय ३५, पत्रपत्रिका नवीकरण तथा दर्ता शुल्कबाट रु दुई हजार ७ सय ६५, काउन्टर अनलाइन दर्ताबाट रु ८७ हजार ६ सय ८७ सङ्कलन भएको छ ।

जिल्लाको तीनवटा केवुल नेटवर्कको नवीकरणबाट रु तीन हजार ७ सय ५०, केवुल रोयल्टीबाट रु तीन लाख २५ हजार १ सय ९०, एफएम रोयल्टीबाट रु ७५ हजार ७ सय ९७, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट रु एक हजार ३ सय ५० राजश्व सङ्कलन भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *