काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशका ११ हजार स्थानमा निःशुल्क इन्टरनेट जडान गर्ने भएको छ । ब्रोडब्यान्ड परियोजनाअन्तर्गत दुर्गम स्थानका वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
परियोजनाअन्तर्गत इन्टरनेट नपुगेका देशभरका १६ हजार स्थानमा निःशुल्क इन्टरनेट जडान गर्ने प्राधिकरणको लक्ष्य छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट परियोजना सञ्चालन गरिरहेको छ । प्राधिकरणका अनुसार ७७ जिल्लालाई १८ वटा प्याकेजमा वर्गीकरण गरी इन्टरनेट जडानको कार्य भइरहेको छ ।
१२ वटा प्याकेजअन्तर्गत ४६ जिल्लाका वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडान गर्ने कार्य शतप्रतिशत सम्पन्न भइसकेको प्राधिकरणको भनाइ छ । दुईवटा प्याकेजअन्तर्गत नौ जिल्लामा ५० प्रतिशतभन्दा बढी काम पूरा भएको र चारवटा प्याकेजअन्तर्गत १९ जिल्लाका तोकिएका स्थानमा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनोट भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।




