काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी ९० दिन लागू हुने अटमअफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दसैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउनेछ ।
पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राखिएका छन् भने केही प्याक परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकलाई निरन्तरता नदिइने भएको छ ।
अटम अफर
अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ मा युुट्युुब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरेपश्चात् सहुलियतस्वरूप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एम अन पायक खरिद गर्न सकिनेछ ।
यसअघि रु. ४० मा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी रु. १५ मा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने बताइएको छ ।
पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याक यथावत् राखिएका छन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन् ।
यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।
वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ । यसअन्तर्गत १० मा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ मा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ मा उपलब्ध हुने बताइएको छ ।
फेस्टिभल अफर
फेस्टिभल अफरका रूपमा दसैं÷तिहार र छठ पर्वलाईसमेटी जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रूपमा उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ ।
रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २०१ देखि ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने नेपाल टेलिकमले उल्लेख गरेको छ ।
यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट १००० वा एमपोसबाट १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।




