ललितपुर।प्रा डा महेशसिंह कठायत, प्रा डा सुवर्ण शाक्य र प्रा डा गणेश गौतमद्वारा लिखित ‘सूचना प्रणाली’ शीर्षक कृति विमोचन भएको छ । उक्त पुस्तक कक्षा ९ मा इञ्जिनीयरिङ अध्ययन गर्नेदेखि एमईसम्म सबैका लागि उपयुक्त हुने बताइएको छ ।
चण्डेश्वरी पब्लिकेशन प्रालिबाट प्रकाशित सो पुस्तकमा सूचना प्रणालीको परिचय र यसको उपयोगिता, सूचनाको मौलिक आवश्यकता, सूचनाबाट तथ्याङ्क व्यवस्थापन, सामाजिक सञ्जाल तथा दूरसञ्चार, व्यक्तिगत तथा समूहगत सूचना प्रणाली, व्यवसायका लागि सूचना आदिबारे जानकारी दिइएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उक्त पुस्तक विमोचन गर्दै प्राध्यापक, व्यवस्थापक र इञ्जिनीयरका लागि कृति उपयोगी भएको बताए । क्याम्पस प्रमुख प्रा डा लक्ष्मण पौडेलले सो पुस्तकले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई निकै सहयोग प्रदान गर्ने अपेक्षा राखे । इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन रामप्रसाद सापकोटा र क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष प्रा डा इन्द्र आचार्यले सो पुस्तकबाट मुलुकका यस क्षेत्रमा अध्ययनरत र कार्यरत विद्यार्थी लाभन्वित हुने बताए । विद्युतीय कम्प्युटर इञ्जिनियरीङ प्रमुख प्रा डा सुरेन्द्र श्रेष्ठले यस विषयमा अध्ययनरत विद्यार्थीले पुस्तकको सहायताबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे
पुस्तक लेखक प्रा डा कठायतले आफूले विगतमा सो क्षेत्रमा काम गर्दैजाँदा निकै समस्या भोग्नुपरेको मनन गरी अबका विद्यार्थीले सूचना र व्यवस्थापना क्षेत्रमा सजिलो होस् भन्ने मनसायका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।
लेखक प्रा डा गौतम र प्रा डा शाक्यले सरकारलाई सूचना र प्रविधिका क्षेत्रमा कृति सहयोगी हुने विश्वास व्यक्त गरे।




