देश

पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’

काठमाडौँ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ ।

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि सो ‘एप्स’ शुरु गरिएको हो । केयूकेएलले सो एप्सको शुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ । सो एप्सबाट जुनसुकै स्थानमा बसेरसमेत पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ । मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुनसक्ने उनले बताए। उनले भने, “मेलम्चीको पानी आए पनि खानेपानीको व्यवस्थापन कठिन हुने हुँदा यसले सघाउन सक्छ ।”

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयूकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ । लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स शुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो सङ्कलन गर्ने एप्स पनि शुरु गरेको छ । विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारीका काम अघि बढाएको छ । मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, लिमिटेडका प्रतिनिधि रहेको समितिले कुन ठाउँमा कति पानी आवश्यक छ र कसरी त्यसलाई वितरण गर्ने भनी आवश्यक तयारीका काम अघि बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *