खेलकुद

एनपीएल दोस्रो संस्करणबाट क्यानलाई ९ करोडभन्दा बढी नाफा, आर्थिक प्रतिवेदन अनुमोदित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणबाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ बचत गरेको आर्थिक विवरण सार्वजनिक गरेको छ। क्यानको हालै बसेको कार्यसमिति बैठकले उक्त आय–व्यय प्रतिवेदनलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।

बैठकमा अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सिल) ले प्रतियोगितासम्बन्धी विस्तृत आर्थिक हिसाब पेश गरेको थियो। प्रस्तुत विवरणअनुसार एनपीएल–२ बाट क्यानले कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ।

प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा अन्य शीर्षकमा २१ करोड ९६ लाख ५ हजार १२१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। खर्च कटाएपछि बाँडफाँडअघिको शुद्ध आम्दानी करिब २५ करोड ४० लाख रुपैयाँ पुगेको थियो।

क्यानको नीति अनुसार उक्त शुद्ध आम्दानीको ५० प्रतिशत हिस्सा आठवटा फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ। यस शीर्षकमा मात्रै १६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम फ्रेन्चाइजहरूमा बाँडिएको जनाइएको छ।

फ्रेन्चाइज वितरणपछि बाँकी रहेको ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानको बचत रकमका रूपमा कायम भएको हो।

क्यान स्रोतका अनुसार एनपीएलको दोस्रो संस्करण आर्थिक रूपमा सफल देखिएको छ भने यसले आगामी संस्करणहरू अझ व्यवस्थित र व्यावसायिक बनाउने आधार तयार गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *