खेलकुद

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । युरोपको प्रतिष्ठत फुटबल लिग युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम ८ मा पुग्ने टोलि सबैको टुंगो लागेको हो ।

जसअन्तर्गत इंग्लिस क्लब लिभरपुलले टर्कीस क्लब गालाटासारेलाई ४–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनायो । घरेलु टोलिको जितमा डोमिनिक सोबोज्लाई, ह्युगो एकिटिके, रायन ग्राभेनवेर्च र मोहम्मद सलाहले गोल गरे ।

अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्ल्यान्डको न्युक्यासललाई ७–२ को फराकिलो गोलअन्तरले हराउँदै समग्रमा ८–३ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गर्यो। घरेलु टोलिको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई–दुई तथा लामिन यामल, मार्क वेर्नल र फेर्मिन लोपेजले एक–एक गोल गरे ।

अर्को खेलमा जर्मनको बायर्नले इटालियन क्लब एटलान्टालाई ४–१ ले हराउँदै समग्रमा १०–२ को भारी गोलअन्तरले क्वाटरफाइनलमा स्थान बनायो । घरेलु मैदान एलियान्ज एरेनामा ह्यारी केनले पेनाल्टीसहित दुई तथा लेन्नत कार्ल र लुइस डियाजले एक–एक गोल गरे ।

यस्तै, अर्को खेलमा इंग्लिस क्लब टोटेनहमले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ३–२ ले हराए पनि समग्रमा ५–७ ले पछि पर्यो भने एट्लेटिको क्वाटरफाइनलमा प्रवेश गर्यो । टोटेनहमका लागि जाभी सिमोन्सले दुई तथा कोलो मोनीले एक गोल गरे । एट्लेटिकोका युलियन अल्भारेज र डेभिड हान्कोले एक–एक गोल गरे ।

क्वाटरफाइनल समीकरणः
रियल मड्रिड भर्सेस बायर्न म्युनिख
स्पोर्टिङ लिस्बन भर्सेस आर्सनल
बार्सिलोना भर्सेस एट्लेटिको मड्रिड
पिएसजी भर्सेस लिभरपुल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *