काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोलीको यात्रा समूह चरणमै टुंगिएको छ। सोमबार भएको समूह ‘बी’ को अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेपछि नेपाल सुपर सिक्स पुग्न असफल भएको हो।
स्कटल्यान्डले दिएको १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गर्यो। नेपालले १३.५ ओभरमा मात्र ६८ रन बनाउँदा ९ विकेट गुमाइसकेको अवस्थामा इनिङ समाप्त भयो। कप्तान इन्दु बर्मा चोटका कारण मैदान छाडेपछि नेपाल थप दबाबमा परेको थियो।
सातौँ ओभरको चौथो बलमा चोट लागेपछि इन्दु मैदान बाहिरिएकी थिइन् र पुनः ब्याटिङमा फर्कन सकिनन्। शीर्षक्रमदेखि नै विकेट गुमाउँदै गएको नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरहरू दोहोरो अंकमा समेत पुग्न सकेनन्।
स्कटल्यान्डका बलरहरूबीच अब्ताहा मकसुद सबैभन्दा प्रभावशाली रहिन्। उनले ३ विकेट लिइन् भने कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ विकेट हात पारिन्। ओलिभिया बेल र रचेल स्लेटरले समान १–१ विकेट लिए।
बलिङमा सुरुआती चमक, अन्त्यमा नियन्त्रण गुम्यो
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा सीमित भएको थियो। नेपालले पावरप्लेमा ३ विकेट लिएर उत्कृष्ट सुरुआत गरेको थियो र एक समय स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्याएको थियो। तर अन्तिम ओभरहरूमा स्कटल्यान्डका ब्याटरहरूले पुनरागमन गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरे।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण इनिङ खेलिन्। अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रनको योगदान दिइन्। नेपालका तर्फबाट मनीषा उपाध्यायले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट हात पारिन्।
एक जितमै सीमित नेपाल, सुपर सिक्सको दौड समाप्त
यस प्रतियोगितामा नेपालले जिम्बाबेलाई हराए पनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणमै बाहिरिन बाध्य भयो। एक जितसहित २ अंकमा सीमित रहँदा नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो।
आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्।
सुपर सिक्स चरणबाट शीर्ष चार टोलीले आगामी जुन महिनामा इंग्ल्याण्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।




