रियल म्याड्रिड सुपर कोपा डी इस्पानाको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले हराउँदै म्याड्रिडले फाइनलमा बार्सिलोनासँगको भेट पक्का गरेको हो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भाल्भेर्डे र रोद्रिगोले समान एक/एक गोल गरे । एथ्लेटिकोको लागि एलेक्सान्डर सोर्लोथले एक गोल गरे । खेलको दोस्रो मिनेटमै भाल्भेर्डेले फ्रिकिकमा शानदार गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
५५ औँ मिनेटमा भाल्भेर्डेकै पासमा रोद्रिगोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाएका थिए । तीन मिनेटपछि सोर्लोथले गोल गर्दै एथ्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिड २-१ गोलले विजयी भएको हो ।
अब बार्सिलोना र रियल म्याड्रिडबीचको फाइनल खेल आइतबार राति हुनेछ ।




