खेलकुद

यी ५ खेलाडी, जो पहिलोपटक टी–२० विश्वकप खेल्दैछन्

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी महिनाबाट भारत र श्रीलंकामा सुरु हुँदैछ। ओमानमा सम्पन्न एसिया तथा ईएपी छनोट प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो।

लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको नेपालले १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ। उक्त टोलीमा सोमपाल कामी नेपालका तर्फबाट हालसम्म भएका तीनै संस्करणको विश्वकप खेल्ने एकमात्र खेलाडी बनेका छन्।

कप्तान रोहित पौडेलसहित ९ खेलाडीले लगातार दोस्रोपटक विश्वकप खेल्न लागेका छन्। उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आसिफ शेख, ललित राजवंशी, गुल्सन झा र करण केसीले पनि पुनः विश्वकपमा स्थान बनाएका छन्।

सन् २०२४ को विश्वकप खेलेका अनिलकुमार शाह, कुशल मल्ल, प्रतिश जिसी, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी भने यसपटक टोलीमा अटाउन सकेनन्। अनिल, सागर र कमल प्रारम्भिक टोलीमै परेका थिएनन् भने कुशल, प्रतिश र अभिनाश अन्तिम छनोटबाट बाहिरिएका हुन्।

उनीहरू बाहिरिँदा पाँच खेलाडीले पहिलोपटक टी–२० विश्वकप खेल्ने अवसर पाएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, नन्दन यादव, लोकेश बम, बसिर अहमद र आरिफ शेखले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले विश्वकपमार्फत राष्ट्रिय टोलीबाट समेत डेब्यु गर्ने अवसर पाउने सम्भावना छ। उनको शानदार प्रदर्शनकै कारण लुम्बिनी लायन्सले एनपीएलको उपाधि जितेको थियो।

नन्दन यादव, लोकेश बम र आरिफ शेख पछिल्लो समय नेपालको टी–२० टोलीसँग आबद्ध छन्। नन्दन र आरिफले नियमित रूपमा प्लेइङ–११ मा अवसर पाइरहेका छन् भने लोकेशले भने सीमित अवसर मात्र पाएका छन्। एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।

आगामी फेब्रुअरी ७ बाट सुरु हुने विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली छन्।

नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्याण्डसँग खेल्नेछ। दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, फेब्रुअरी १५ मा वेष्ट इन्डिजसँग र अन्तिम समूह खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने तालिका छ। नेपालका सबै खेल मुम्बईमा हुनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *