काठमाडौं । टी–२० विश्वकपअन्तर्गत आफ्ना खेलहरू भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अस्वीकार गरेको छ। मंगलबार भएको भर्चुअल वार्तामा बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरेको हो।
क्रिकइन्फोका अनुसार सुरक्षा चिन्ताको आधारमा खेल स्थान परिवर्तन गर्न नसकिने आइसीसीको तर्क छ। आइसीसीले भारतमा टोली नपठाए बंगलादेशले अंक गुमाउने चेतावनीसमेत दिएको बताइएको छ। यद्यपि बिसिबीले भने नियामक निकायबाट यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ। बीसीसीआई र बिसिबी दुवैले वार्ताको नतिजाबारे आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्।
२० टोली सहभागी प्रतियोगिता भारत र श्रीलङ्कामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ। ग्रुप चरणमा रहेको बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकातामा खेल्ने तालिका छ। अन्तिम ग्रुप खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग खेल्नुपर्नेछ।
यदि बंगलादेशले भारत आएर खेल्न अस्वीकार गरेमा उसले समूह चरणका सबै खेल गुमाउनेछ। त्यस अवस्थामा नेपालसहित चारवटै टोलीले यत्तिकै दुई–दुई अंक पाउनेछन्। बंगलादेश नखेल्दा नेपालले समूह चरणमा एउटा प्रतिस्पर्धी कम पाए पनि टेस्ट राष्ट्रसँग खेल्ने अवसर भने गुम्नेछ।
बंगलादेश नखेलेको अवस्थामा नेपालका प्रतिस्पर्धी इङ्ल्यान्ड, इटली र वेस्ट इन्डिज हुनेछन्। यीमध्ये इटली नेपालभन्दा कमजोर मानिन्छ। इटलीविरुद्ध जित र वेस्ट इन्डिजविरुद्ध ‘सरप्राइज’ नतिजा निकाल्न सके नेपालका लागि सुपर–८ पुग्ने सम्भावना बलियो हुनेछ। बंगलादेश खेलेको खण्डमा भने प्रतिस्पर्धा थप कठिन हुने देखिन्छ।
यसैबीच, बीसीसीआईले बंगलादेशी फास्ट बलर मुस्तफिजुर रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएपछि बंगलादेश असन्तुष्ट बनेको छ। फ्रेन्चाइजीले डिसेम्बरको आईपीएल लिलामीमा मुस्तफिजुरलाई ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो। बीसीसीआई सचिव देवजित सैकियाले यो निर्णयबारे जानकारी दिए पनि कारण खुलाएका छैनन्।
मुस्तफिजुर २०२६ को लिलामीमा बिकेका एकमात्र बंगलादेशी खेलाडी हुन्। आईपीएल गभर्निङ काउन्सिलले यस विषयमा औपचारिक बैठक नगरेको बताइएकाले निर्णय प्रक्रियाबारे प्रश्न उठिरहेका छन्।




