खेलकुद

नेपाल यु-१९ एसिया कपबाट बाहिरियो

काठमाडौं । लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो ।

समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन् ।

आज नेपालले दिएको १ सय ३१ रनको झिनो लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि ओपनर जावद अबरार ६८ बलमा ७ चौका र ३ छक्कासहित ७० रनमा अविजित बनाएका थिए । रिजन होसन १२ रनमा नटआउट रहेका थिए ।

कलम सिद्धीकी ३४ रनमा युवराज खत्रीको बलमा अभिषेक तिवारीबाट क्याच आउट हुन पुगे । ५ रन बनाएका रिफात बेग अभिषेको बलमा निश्चलबाट क्याच आउट भएका थिए । कप्तान अजिजुल हाकिम १ रनमा रनआउट भएका ।

युएईको दि सेभेन्स स्टेडियममा त्यसअघि बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । नेपाल ३१.१ ओभरमा १ सय ३० रन बनाउँदै अलआउट भएको थियो । टोलीका लागि अभिषेक तिवारीले ४३ बलमा २ छक्कासहित सर्वाधिक ३० रन बनाएका थिए ।

आशिष लोहारले २३ रन जोडेका थिए । ओपनर साहिल पटेलले १८ र निरज यादवले १४ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि मोहम्मद सोबुजले ३, साद रजिन, शाहिरर अहमद र अजिजुल हाकीमले समान २ विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ३ विकेट र आज श्रीलंकासँग २ विकेटले पराजित भएको थियो । अर्को समूहमा भारतले २ खेल, युएई र पाकिस्तानले समान १ खेल जितेका छन् । मलेसिया जित विहिन छ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *