काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको डे–नाइट खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको लिग चरण विजयी ढंगले समाप्त गरेको छ । पहिल्यै प्लेअफ होडबाट बाहिरिसकेको दुवै टिमका लागि यो प्रतिष्ठाको खेल मात्र भए पनि पोखराले उत्कृष्ट प्रदर्शन गर्दै १९.४ ओभरमा १२१ रनको लक्ष्य सहजै भेट्टायो ।
ओपनर एडम रोसिङटनले आक्रमक ब्याटिङ गर्दै ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन जोडे । उनीसँगै पहिलो खेल खेलेका युवा ब्याट्सम्यान अर्जुन कुमालले संयमित ४३ रन अविजित रहेर महत्वपूर्ण साथ दिए । दुवैले पहिलो विकेटका लागि १४।२ ओभरमा १०० रनको शतकीय साझेदारी गरे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे । चितवनका सैफ जैब र रिजन ढकालले समान एक–एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ७ रनमै ३ विकेट गुमाउँदै कठिन सुरुआत गरेको थियो । त्यसपछि देव खनालले ३५ रन र यूगान्डाका अल्पेश राम्जानीले डेब्युमै २२ बलमा अविजित ३३ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
कप्तान कुशल मल्लले २३ रन र सैफ जैबले १७ रन जोडे । देव–जैबको ३८ रन र कुशल–राम्जानीको ३९ रनको साझेदारीले चितवनलाई १२०र६ सम्म पुर्यायो । पोखराका धनञ्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट हात पारे ।
अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ । दुवै टोलीसँग समान २–२ अंक छ र नतिजाले अन्तिम तीन स्थानको निर्धारण हुनेछ ।




