खेलकुद

सुपर सिक्समा नेपालको खेलतालिका सार्वजनिक, विश्वकप छनोटको कस्तो छ समीकरण ?

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको समीकरण पूरा भएको छ । समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको नेपाल अब विश्वकपको ढोका खोल्न आतुर छ ।

समूह चरणको अन्तिम खेलमा ओमानले पपुवा न्युगिनीलाई पराजित गरेसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । नेपालसँगै आयोजक ओमान र यूएईले समूह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्दै अगाडि बढेका छन् । सामोआ, जापान र कतारले भने एक-एक जितका साथ सुपर सिक्समा स्थान बनाएका छन् ।

नेपालले समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा प्रवेश गरेको छ । यस्तै, समूह १ को विजेता यूएईले २ अंक र समूह ३ को विजेता ओमानले ३ अंकका साथ सुपर सिक्समा आफ्नो बलियो उपस्थिति देखाएका छन् । हाल सुपर सिक्सको अंकतालिकामा ओमान ३ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र यूएई २-२ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेट रनरेटका आधारमा नेपालले यूएईलाई पछि पारेको छ । कतार, जापान र सामोआ क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

नेपालको विश्वकप यात्रा अब सुपर सिक्सका चार महत्त्वपूर्ण खेलमा निर्भर छ । शीर्ष तीनमा पर्नका लागि नेपाललाई कम्तिमा तीन जित आवश्यक पर्नेछ, यद्यपि दुई जितले पनि रनरेटका आधारमा सम्भावना कायम राख्न सक्छ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएई सँग भिड्नेछ । यो खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ । दुवै टोली पछिल्लो समय उत्कृष्ट लयमा रहेकाले यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । युएईलाई हराउन सके नेपालको विश्वकप यात्राका लागि बलियो आधार तयार हुनेछ ।

नेपालको सुपर सिक्सको खेलतालिका:

नेपाल भर्सेस् यूएई: २६ असोज (आइतबार, दिउँसो ४:१५ बजे)

नेपाल भर्सेस् कतार: २७ असोज (सोमबार, बिहान ८:४५ बजे)

नेपाल भर्सेस् सामोआ: २९ असोज (बुधबार, बिहान ८:४५ बजे)

नेपाल भर्सेस् ओमान: ३० असोज (बिहीबार, दिउँसो ४:१५ बजे)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *